काठमाडौँ । राष्ट्रिय योजना आयोगले सोह्रौ पञ्च वर्षीय योजनाको तर्जुमा गर्दैछ । आगामी माघ मसान्तमा सोह्रौ पञ्च वर्षीय योजनाको अन्तिम मस्यौदा सार्वजनिक गर्ने तयारी आयोगको छ ।
आयोगले सोह्रौ पञ्च वर्षीय योजनाको तयारीका लागि विभिन्न सरोकारवालाहरुसँग लगातार छलफल गरिरहेको छ । यसै क्रममा आइतबार अर्थ समितिले सोह्रौ पञ्च वर्षीय योजनाको विषयमा छलफल गरेको छ । उक्त छलफलमा अर्थ समितिका सदस्य सांसदहरुले कार्यान्वयन हुने खालका योजना बनाउन आयोगलाई सुझाव दिएका छन् ।
सदस्य सांसदहरुले कृषि,स्वास्थ,शिक्षा,रोजगारी लगायतका विषयमा केन्दीत रहेर योजना बनाउनुपर्नेमा जोड दिएका हुन् ।विगतका वर्षहरुमा योजना बन्ने तथा कार्यान्वयन नहुने समस्या रहेको भन्दै सांसदहरुले कार्यान्वयन हुने खालका योजनालाई मात्रै समेट्न योजना आयोगलाई सुझाव दिएका छन् ।
कार्यक्रमा पूर्व अर्थमन्त्री विष्णु पौडेलले अब बन्ने योजनाहरु मुर्त,स्पष्ट र मूल्यांकन गर्न सकिने खालका हुनुपर्ने बताए । राष्ट्रिय गौरवका आयोजनाहरुको कार्यान्वन अवस्था समेत दयनीय रहेको भन्दै त्यस्ता आयोजनाहरु प्रक्षेपण गरिएको लागतमा ,समयमा र गुणस्तरीय बन्नुपर्नेमा पूर्व अर्थमन्त्री पौडेलको जोड थियो ।
कार्यक्रममा सांसद विनोद चौधरीले आयोगको भूमिका स्पष्ट पार्नुपर्नेमा जोड दिए । सांसद मुक्ताकुमारी यादवले सोह्रौ पञ्च वर्षीय योजनामा महिला,पिछडिएका समूह लगायत समेट्न सुझाव दिइन् ।
आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले सांसदहरुको जिज्ञासाको जवाफ दिँदै हासिल गर्न सक्ने लक्ष्यहरु मात्रै राखेर सोह्रौँ योजना तर्जुमा भइरहको जानकारीजानकारी दिए । विगतका वर्षहरुमा जस्तो योजना बन्ने तर कार्यान्वयन नहुने खालका योजना नभई अब कार्यान्वयन हुने खालका योजना मात्रै योजना बन्ने उनको भनाई थियो ।
त्यस्तै,सुशासन, सामाजिक न्याय र समृद्धिको मुख्य सोचसहित अद्यावधिक योजनाको तयारी रहेको आयोगका सह–सचिव महेश भट्टराईले बताए । उनले विभिन्न सरोकारवाला निकायहरुसँग छलफल गरेर २५ वटा विकास प्रयासमा देखिएका मुलभूत सवाल र चुनौती तथा बाह्र वटा संरचनात्मक रुपान्त्रणका क्षेत्र र रणनीति पहिचान गरिएको समेत जानकारी दिए ।
आयोगले सोह्रौ पञ्च वर्षीय योजनाको अवधारणापत्र यसअघि नै तयार गरिसकेको छ । उक्त अवधारणपत्रमा राजनीतिक, प्रशासनिक र न्यायिक क्षेत्रमा सुशासन कायम गर्नु, स्वास्थ्य, शिक्षा, रोजगारी र आवास लगायतका क्षेत्रमा सामाजिक न्याय स्थापित गर्नु र सामाजिक जीवन, आर्थिक विकास र राष्ट्रिय अर्थतन्त्रमा समृद्धि हासिल गर्नुे मुख्य उदेश्य राखिएको छ ।
त्यस्तै,अवधारणापत्रमा निरन्तर अनपेक्षित न्युन आर्थिक वृद्धि,न्युन उत्पादन तथा उत्पादकत्व, लागतको तुलनामा न्युन प्रतिफल युक्त कृषि उपज,औद्योगिक क्षेत्रको संकुचन लगायतका विभिन्न २५ वटा सवाल तथा चुनौतीहरु पहिचान गरिएका छन् ।
त्यस्तै,कमजोर विनियोजन कुशलता,न्युन पूँजीगत विनियोजन तथा कमजोर खर्च क्षमता,उपभोगमुखी आयात,अव्यवस्थित शहरीकरण, समावेशिकरण, महिला, बालबालिका, जेष्ठ नागरिक र सीमान्तकृत समुदायमा हिंसाको स्वरुप लगायतका विभिन्न सवाल तथा चुनौतीहरु पहिचान गरिएका छन् ।
त्यस्तै, सोह्रौँ योजनाले संरचनागत रूपान्तरणका क्षेत्रमा समष्टिगत आर्थिक आधारहरूको सवलीकरण,उत्पादन र तथा उत्पादकत्व अभिवृद्धि, मर्यादित एवं समावेशी रोजगारीका अवसरको सिर्जना, मानव स्रोत व्यवस्थापन,गुणस्तरीय, समन्यायिक एवं जीवनोपयोगी शिक्षा, गुणस्तरीय तथा सर्वसुलभ स्वास्थ्य प्रणाली, गुणस्तरीय पूर्वाधार र व्यवस्थित शहरीकरण, सामाजिक सशक्तिकरण, समावेशीकरण र सामाजिक सुरक्षा लगायतका बाह्र वटा संरचनात्मक रुपान्त्रणका क्षेत्र तथा रणनीति पहिचान गरेको छ ।
त्यस्तै,छलफलमा पन्ध्रौं योजनाको समीक्षा पनि गरिएको छ, जसमा विश्वव्यापी रूपमा देखा परेको कोभिड महामारी, विश्वस्तरमा आएको राजनीतिक द्वन्द्व र अर्थतन्त्रमा संरचनागत सुधारको लक्ष्य पूरा गर्न नसक्दा पन्ध्रौं योजनाको लक्ष्य प्रभावित भएको विश्लेषण गरिएको छ ।